लिखित अनुवाद (translation) र मौखिक अनुवाद (interpreting) को लागत बुझ्ने
“यो कामको लागत कति लाग्छ?” भन्ने प्रश्नको एउटा मात्र उत्तर हुदैन। प्रत्येक कामको मूल्य निर्धारण सेवा, व्यवसायीको अनुभव र ग्राहकको आवश्यकतामा निर्भर हुन्छ। व्यवसायीहरूले गुणस्तरीय सेवा प्रदान गर्दै उचित आम्दानी गर्न सामान्यतया दरहरू निर्धारण गर्छन्।
यस लेखले मूल्य निर्धारणलाई प्रभाव पार्ने केही तत्वहरूको वर्णन गर्दछ। तत्वहरू बुझेर, तपाईंले सूचित छनौटहरू गर्न सक्नुहुन्छ र यथार्थपरक बजेट निर्माण गर्न सक्नुहुन्छ।
लागतहरू बारे बुझ्ने सबैभन्दा राम्रो तरिका भनेको धेरै अनुमानित मूल्य (quotes) अनुरोध गर्नु हो यसबाट तपाईंले मूल्य निर्धारण र त्यसमा के के समावेश छ, तुलना गर्न सक्नुहुन्छ।
मूल्य निर्धारण कसरी गरिन्छ?
अनुवादक र दोभाषेहरू सामान्यतया स्वतन्त्र व्यक्तिहरू (freelancers) को रूपमा काम गर्छन्, वा भाषा सेवा प्रदायकहरू (LSPs) मार्फत कार्यरत हुन्छन्। सामान्यतया, LSP हरूको व्यवसाय सञ्चालन लागत बढी हुन्छ, जबकि स्वतन्त्र व्यक्तिहरूले आफ्नै खर्च व्यवस्थापन गर्छन्।
निम्न कुराहरूले दरलाई प्रभाव पार्छ:
- सेवाको प्रकार सहित कति जना अनुवादक वा दोभाषे संलग्न हुन्छन्
- तयारी वा अनुसन्धानको स्तर सहित विषयवस्तुको जटिलता
- NAATI प्रमाणीकरण को स्तर
- तालिम र अनुभव
- समयसीमा, कार्यालय समय पछिको काम वा अत्यावश्यक शुल्क
- स्थलगत कामको लागि यातायात खर्च।
सेवाका प्रकार र मूल्य निर्धारण संरचनाहरू
विभिन्न सेवाहरू फरक फरक मूल्य निर्धारण संरचनाहरूसँग जोडिन्छन्।
- लिखित अनुवाद सेवाहरू (Translation services) यो प्रायः प्रति कागजात, प्रति पृष्ठ वा प्रति शब्द मूल्य निर्धारण गरिन्छ, तर कार्यभारको प्रकारका आधारमा प्रति घण्टा पनि मूल्य निर्धारण गरिन्छ।
- मौखिक अनुवाद सेवाहरू (Interpreting services) यो प्रति घण्टा, आधा दिन वा पूरा दिनको हिसाबले शुल्क लाग्न सक्छ। दोभाषेको दरमा तयारी समय र यात्रा समय पनि एउटा तत्वको रुपमा पर्छ।
लिखित अनुवादको मूल्य निर्धारण
- स्तरीय कागजात अनुवादहरू (Standard document translations) (जस्तै जन्मदर्ता प्रमाणपत्र वा सवारी चालक अनुमतिपत्र): सामान्यतया प्रति पृष्ठ वा प्रति कागजात शुल्क लिइन्छ। यो पूर्ण अनुवाद वा मुख्य खण्डहरूको अनुवाद मात्र हुन सक्छन्।
- सामान्य अनुवादहरू (General translations) सामान्यतया प्रति शब्द शुल्क लिइन्छ, थोरै कामहरूको लागि न्यूनतम शुल्क सहित।
- विशेष काम (Specialised work) (जस्तै कानुनी, चिकित्सा वा साहित्यिक): आवश्यक विशेषज्ञताको कारणले गर्दा उच्च दरहरू लागू हुन्छन्। गुणस्तर सुनिश्चितताको अतिरिक्त शुल्क लाग्न सक्छ।
- यान्त्रिक अनुवाद सम्पादन (Machine translation editing): यन्त्रले सृजना गरेको अनुवादको शुद्धताको लागि सम्पादन। यान्त्रिक अनुवादको गुणस्तरमा निर्भर गर्दै अनुवादकहरूले प्रति शब्द वा प्रति घण्टा शुल्क लिन सक्छन्।
मौखिक अनुवादको मूल्य निर्धारण
- दोभाषे सेवाहरू (Interpreting services): प्रति घण्टा, आधा दिन वा प्रति दिन शुल्क लिइन्छ। सेवा वितरणको आधारमा दरहरू फरक-फरक हुन्छन् (क्रमिक वा समानान्तर अनुवाद, व्यक्तिगत वा दूरस्थ)।
- कन्फेरेन्स वा अस्लान मौखिक अनुवाद (Conference or Auslan interpreting) विशेष गरी लामो कार्यको लागि प्रायः दुई दोभाषे चाहिन्छ।
- प्रत्यक्ष अनुवाद (Conference interpreting): विशेष उपकरणको आवश्यकता पर्न सक्छ।
- न्यूनतम बुकिङ र रद्द सुल्क: छोटो समयको कामको लागि पनि दोभाषेहरूले प्रायः न्यूनतम शुल्क (उदाहरणका लागि, २-३ घण्टा) लिन्छन्। छोटो समयको सूचनामा बुकिङ रद्द गरेमा उनीहरूले शुल्क लिन सक्छन्।
अनुमानित शुल्क (quote) माग्दा के के सोध्ने?
अप्रत्याशित शुल्क नआओस् भनेर सधैं निम्न कुराहरू पुष्टि गर्नुहोस्:
- कुल लागत (लागू भएमा GST सहित)
- शुल्क कसरी गणना गरिन्छ (प्रति शब्द, प्रति घण्टा, प्रति कागजात)
- कार्य सम्पन्न गर्ने अपेक्षित समय
- लिखित अनुवाद (ट्रान्सलेशन) लागतमा गुणस्तर जाँच समावेश छ कि छैन
- लागत घटाउने विकल्पहरू छन् कि छैनन् (उदाहरणका लागि, अत्यावश्यक शुल्क घटाउन समयसीमा समायोजन)
तपाईंको अनुरोध जति स्पष्ट र विस्तृत हुन्छ, दर भाउ अनुमान त्यति नै सटीक हुनेछ।