भाषा छनौट गर्नुहोस्

यो वेबसाइटलाई तपाईंले रोज्नुभएको भाषामा देख्न सक्नुहुन्छ।

दोभाषे संलग्न भेटघाट वा बैठकको तयारी

वर्ग अनुवादक र दोभाषेसँग काम गर्दा प्रकाशित 14 जनवरी 2026


राम्रो तयारी गर्नले दोभाषे संलग्न भेटघाटहरू सहज रूपमा सञ्चालन हुन्छन्। अग्रिम योजना बनाएर र आफ्नो दोभाषेलाई सही जानकारी प्रदान गरेर, तपाईंले गलत बुझ्नबाट बच्न सक्नुहुन्छ, समय बचत गर्न सक्नुहुन्छ र सबैका लागि व्यावसायिक वातावरण सिर्जना गर्न सक्नुहुन्छ।

आवश्यक विवरणहरू प्रदान गर्नुहोस्

दोभाषेलाई बैठक हुने मिति, समय, स्थान र अपेक्षित अवधि पहिले नै थाहा छ/छैन सुनिश्चित गर्नुहोस्। कोठा नम्बर, भवन प्रवेश गर्ने निर्देशन वा अनलाइन बैठकहरूको लागि लिङ्कहरू जस्ता ठाउँ पत्ता लागाउने विवरणहरू समावेश गर्नुहोस्। यसले सत्र समयमै सुरु हुन र सहज रूपमा अगाडि बढ्न मद्दत गर्दछ।

सही मौखिक अनुवादको माध्यम छनौट गर्नुहोस्

अपोइन्टमेन्ट भन्दा अगाडि, कुन दोभाषे माध्यम प्रयोग गर्ने भनेर निर्णय गर्नुहोस्, किनकि यसले समय र कार्यक्रम व्यवस्थापनलाई असर गर्छ।

क्रमिक मौखिक अनुवाद (Consecutive Interpreting)

कुराकानीको क्रममा वक्ता रोकिए पछि मात्र दोभाषेले अनुबाद गर्न थाल्छन्। यो माध्यम सामान्यतया भेटघाट वा साना बैठकहरूमा प्रयोग गरिन्छ। यस्तो सत्रमा एउटा भाषामा कुराकानी गर्दा लाग्ने समय भन्दा लगभग दोब्बर समय लाग्नेछ, त्यसैले आफ्नो तालिकामा थप समयको व्यवस्था गर्नुहोस्।

समानान्तर मौखिक अनुवाद (Simultaneous Interpreting)

सामान्यतया हेडसेट वा इन्टरप्रेटिंग बुथ जस्ता विशेष उपकरणहरू प्रयोग गरेर दोभाषेले सिधै अनुवाद गर्छन्। यो माध्यम ठूला बैठकहरू, सम्मेलनहरू वा समूहमा छलफल गर्दाका लागि उत्तम हुन्छ जहाँ तपाईंलाई सञ्चारको प्रवाह कायम राख्न आवश्यक पर्छ। यो मानसिक रूपमा कठिन कार्य भएकाले, शुद्धता कायम राख्न र थकान मुक्त हुन पालैपालो बोल्ने गरि कम्तिमा दुई जना दोभाषे राख्न सिफारिस गरिन्छ।

दोभाषे बुक गर्दा, कुन माध्यम प्रयोग गर्ने र उपयुक्त उपकरण ठाउँमा भए/नभएको सुनिश्चित गर्नुहोस्। यदि तपाईं अनिश्चित हुनुहुन्छ भने, तपाईंको भाषा सेवा प्रदायक वा दोभाषेले उत्तम दृष्टिकोणको बारेमा सल्लाह दिन सक्छन्।

दोभाषेलाई संक्षिप्त जानकारी दिनुहोस्

सम्भव भएसम्म, दोभाषेलाई संक्षिप्त जानकारी अग्रिम प्रदान गर्नुहोस्। संक्षिप्त जानकारी प्रदान गर्नु भनेको बैठकको उद्देश्य, उपस्थित व्यक्तिहरु र दोभाषेले जान्नुपर्ने कुनै पनि प्रमुख विवरणहरू साझा गर्नु हो। उदाहरणका लागि, बैठक भावनात्मक, प्राविधिक वा संवेदनशील हुनेछ/छैन दोभाषेलाई थाहा दिनुहोस्। यसले उनीहरूलाई सही मर्म र शब्दावली छनौट गर्न मद्दत गर्दछ।

कुनै पनि प्राविधिक भाषा, विशेष शब्दावली वा विशिष्ट बोलीचालीको भाषालाई हाइलाइट गर्नुहोस् ताकि दोभाषेले यसलाई सही रूपमा अनुवाद गर्न तयारी गर्नेछन्। सत्र सुरु हुनु अघि छोटो कुराकानी गर्नले पनि समय बचत गर्न सकिन्छ, गलत बुझाइबाट बच्न सकिन्छ र सहज सञ्चार सुनिश्चित गर्न सकिन्छ।

सामग्रीहरू अग्रिम रूपमा साझा गर्नुहोस्

सम्भव भएमा, सान्दर्भिक सामग्री वा बैठकको एजेन्डा अग्रिम रूपमा साझा गर्नुहोस्। यसले दोभाषेलाई शब्दावली तयार गर्न र सन्दर्भ बुझ्न मद्दत गर्दछ। तपाईंले प्रदान गर्नुभएको सबै जानकारी वा कागजातहरू गोपनीय रहनेछन् किनकि दोभाषेहरू गोपनीयता पालना गर्नुपर्ने नैतिक संहिताको अधिनमा रहेर काम गर्छन्।

यदि तपाईंले बैठकको समयमा आफ्नो सेवाग्राहीसँग उनीहरूको भाषामा उपलब्ध नभएको कागजात साझा गर्दै हुनुहुन्छ भने, सत्र सुरु हुनुभन्दा पहिले नै दोभाषेलाई त्यो कागजात प्रदान गर्नुहोस्। यसले उनीहरूलाई सामग्रीको समीक्षा गर्ने मौका दिन्छ। केही अवस्थामा, उनीहरूले कागजातलाई दृश्यात्मक रूपमा अनुवाद गर्न सक्नेछन्। यसको अर्थ उनीहरूले कागजात हेरेर अर्को भाषामा ठूलो स्वरमा पढ्नेछन्।

दोभाषेलाई परिचय गराउनुहोस्

सत्र सुरु हुनुभन्दा पहिले, दोभाषेलाई परिचय गराउनुहोस् र उपस्थित सबैलाई उनीहरूको भूमिकाको बारेमा व्याख्या गर्नुहोस्। दोभाषेले सबै पक्षहरू बीचको सञ्चारलाई सहज बनाउँछन्, र एक भाषामा भनिएका सबै कुरा अर्को भाषामा सही रूपमा व्यक्त गरिएको सुनिश्चित गर्दछन्। उनीहरूले जानकारी थपघट, हेरफेर वा परिवर्तन गर्दैनन्, र उनीहरूले राय, सल्लाह वा स्पष्टीकरण दिँदैनन्।

तपाईं एउटा सामान्य वाक्यबाट कुराकानी सुरु गर्न सक्नुहुन्छ जस्तै: “उहाँ हाम्रो दोभाषे हुनुहुन्छ, उहाँले आज हामीलाई कुराकानी गर्न मद्दत गर्नुहुने छ। हामीले बोल्ने सबै कुराको सही र गोपनीय रूपमा मौखिक अनुवाद गर्नुहुने छ।”

सहभागीहरूलाई यो पनि जानकारी गराउनुहोस् कि दोभाषेले पहिलो पुरुष एकवचन/बहुवचनमा (अर्थात् “म”, “हामी” भनेर) बोल्नुहुन्छ ताकि कुराकानीको प्राकृतिक प्रवाह कायम राख्न सकियोस्। सबैले एकअर्कासँग सिधै बोल्नुपर्छ, दोभाषेसँग होइन, र अनुवादको लागि समय दिनुहोला।

सम्झनु पर्ने मुख्य बुँदाहरू

  • दोभाषे संलग्न सत्रहरूको लागि थप समय छुट्याउनुहोस्
  • छोटो खण्ड-खण्डमा बोल्नुहोस् र नियमित रूपमा रोकिनुहोस्
  • आफ्नो सेवाग्राहीसँग आँखाको सम्पर्कमा रहनुहोस्, दोभाषेसँग होइन
  • स्पष्ट, सरल भाषा प्रयोग गर्नुहोस्
  • बोलीचालीको भाषा, उखान वा जटिल वाक्यांशहरू प्रयोग नगर्नुहोस्।
  • धैर्य गर्नुहोस्, केही भाषाहरूलाई एउटै अर्थ लगाउन बढी वा कम शब्दहरू चाहिन सक्छ।

दोभाषेहरूले गोपनीयता, निष्पक्षता र शुद्धता आवश्यक पर्ने नैतिक संहिता पालना गर्छन् भन्ने बुझाइले विश्वास निर्माण गर्न मद्दत गर्छ र सत्रभरि व्यावसायिक सञ्चार सुनिश्चित गर्दछ।

थप स्रोतसाधनहरू

दोभाषेहरूसँग काम गर्ने बारे थप जानकारीको लागि, यहाँ हेर्नुहोस्:

के यो पृष्ठ उपयोगी थियो?(भर्नुपर्ने)

तपाईंको प्रतिक्रियाले हामीलाई यो पृष्ठलाई सुधार गर्न मद्दत गर्दछ, NAATI ले हाम्रो वेबसाइट सुधार गर्न यो प्रतिक्रियाको प्रयोग गर्दछ।

यदि तपाईंलाई जवाफ चाहिन्छ भने, कृपया हाम्रो सम्पर्क फारम प्रयोग गर्नुहोस्।

This site is registered on wpml.org as a development site. Switch to a production site key to remove this banner.